Video Glimpse of Dinner Night with Patron Mr. & Mrs. Arun Kumar Chaudhary
On the occasion of V day celebrations, Sahara UK participated on this very special day, invited n organised by GRNC, greater Rushmore Nepalese Community. On sat 7th jun at process hall Aldershot England
Many community, key personal of high dignitaries and many individuals attended.Sahara UK was awarded certificate of participation


सहारा यूकेले अल्डरसटस्थित चौतारी क्याफे एन्ड रेस्टुरेन्टमा शनिबार बिहान एक कार्यक्रम आयोजना गरी नेपाली फूटबलर साम्बालाई स्वागत तथा सम्मान गरेको हो । सहाराका अध्यक्ष कृष्ण गुरुङलगायतले खादा लगाउँदै माया चिनोसहित साम्बालाई सम्मान गरे ।
त्यस अवसरमा तमु धीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, व्यवसायी अरुण गुरुङलाई स्वागत, पत्रकार आश गुरुङलाई बिदाइ गरिएको छ । साथै नयाँ खुलेको चौतारी रेस्टुरेन्टका प्रोपाइटर कविर बोम्जन र विमल गुरुङलाई पनि बधाई दिइएको छ ।

लन्डन । सहारा परिवार युकेको वार्षिक पारिवारिक क्याम्पिङ ब्रेकन साउथवेल्समा सम्पन्न भएको छ । यही मे ३ देखि ५ सम्म भव्य रूपमा भएको क्याम्पिङमा करिब ६० जनाको सहभागिता थियो ।
पहिलो दिन पानी परेको कारण क्याम्प सेटअप गर्न केही समस्या भए पनि समग्रमा अत्यन्तै रमाइलो भएको सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले बताए । उनका अनुसार पानी जमेका कारण गाडी सडक छेउमा नै पार्किङ गरिएको थियो ।
उपस्थित सबैको सहकार्यमा एडमिन, कुकिङ र डाइनिङसहितको क्याम्प साइट सेटअप गरिएको थियो । टेन्टदेखि लिएर खाना पकाउने भाँडाकुँडालगायतको व्यवस्थापन सहाराका सल्लाहकार सेरा गुरुङले गरेका थिए ।
सहारा युके क्याम्पिङ आउटको कोअर्डिनेसन उपाध्यक्ष शारदा गुरुङ थिए । सम्पूर्ण प्राविधिक विषय पूर्व महासचिव मनोज गुरुङले मिलाएका थिए । सह कोषाध्यक्ष जगन गुरुङले इलेक्ट्रिसिटीतर्फको व्यवस्थापन गरेका थिए । आर्थिक संकलन तथा व्यवस्थापन कोषाध्यक्ष कुमार थापा, कुकिङतर्फ महिला सहभागीहरू खटिएका थिए । संस्थापक अध्यक्ष नवीन गुरुङ र खेलकुद सचिव समसेर गुरुङ र सीईओ मेघ गुरुङले मुख्य खानाको व्यवस्थापन गरेका थिए ।
विभिन्न प्रकारका खाना तथा पेय पदार्थको व्यवस्था गरिएको थियो । त्यसपछि नाचगान र रमाइलो गरिएको अध्यक्ष गुरुङले बताए ।
भोलिपल्ट ब्रेकफास्ट खाएपछि टोली पेन वाई हिलतर्फ गएको थियो । मौसम पनि घमाइलो भएको थियो । त्यहाँबाट ३० मिन्ट गाडीमा र १-२ घण्टा हिँडेपछि पेन वाई हिल पुगिन्छ । उक्त स्थान हाइकिङका लागि प्रख्यात छ । बैंक होलिडे परेका कारण त्यहाँ हाइकिङ जानेहरूको भीड थियो ।
‘बेलुका ४ बजेतिर क्याम्पमा फर्किएर केही समय आराम गरिएको थियो । अनि फुटबल (नानीहरूको पनि) खेलिएको थियो । महिलाको भलिबल भयो । बेलुका पुनः नाचगान भएको थियो,’ अध्यक्ष गुरुङले भने, ‘धेरै भेराइटिजका खानेकुराहरू आगोमा पकाएर खायौँ । एकदमै रमाइलो भयो । त्यो रात पनि बिहान ४ बजेसम्म बसियो ।’
भोलिपल्ट फोटोग्राफसहित क्याम्प क्लियरेन्सपछि टोली फर्किएको थियो ।
सहारा युके परिवारबीच चिनजानसहित सम्बन्ध प्रगाढ बनाउने र फन्ड राइज गर्ने उद्देश्यले क्याम्पिङ आयोजना गरिएको थियो । क्याम्पिङमा उपस्थित हुन नसक्ने सदस्यहरूले पनि स्वैच्छिक रूपमा सहयोग गरेका थिए ।
सहभागी भएर क्याम्पिङ सफल बनाउने सहयोग गर्ने सबैलाई सहारा युकेका अध्यक्ष गुरुङले धन्यवाद दिए ।
सहाराले बेलायतका विभिन्न पर्यटकीय क्षेत्रमा हरेक साल क्याम्पिङ गर्दै आएको छ । कोरोना महामारीका कारण केही वर्ष अवरुद्ध भएको क्याम्पिङले गत वर्षदेखि निरन्तरता पाएको हो ।
बुधबार, फागुन ३०, २०८०
लन्डन । सहारा युकेमा नयाँ आजीवन सदस्यलाई स्वागत गरिएको छ ।
हालै आजीवन सदस्यता लिएका अमरबहादुर तामाङ र विमला तामाङलाई अल्डरसटस्थित ओम रेस्टुरेन्टमा स्वागत गरिएको हो ।
सो क्रममा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ, संस्थापक उपाध्यक्ष डिलराज गुरुङ, सल्लाहकार कृष्ण गुरुङ र कमल गुरुङ तथा मिडिया सेक्रेटरी तथा गर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको उपस्थिति थियो ।
दुई महिना अवधिमा सहारा युकेका १५ जना आजीवन सदस्य भएका छन् । बेलायतमा बसोबास गर्ने नेपालीले पोखराको सहारा क्लबको सहयोगका लागि सहारा युकेको स्थापना गरेका हुन् ।

यो एक परोपकारी र गैर नाफामूलक संस्था हो । नेपाल र बेलायतमा खेलकुद गतिविधि, संस्कृति र शिक्षाका क्षेत्रमा काम गर्दै आएको छ ।
मंगलबार, फागुन २९, २०८०
लन्डन । सहारा युकेको टोलीले गायक वरिष्ठ गायक दीपक थापालाई भेटेर शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बिरामी भएर उपचारपछि नर्थ होल लन्डनस्थित भाइको घरमा आराम गरिरहेका गायक थापालाई मंगलबार घरमै गएर भेटेको हो । 
सहारा युकेका सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ उनकी धर्मपत्नी जिना गुरुङ तथा उपाध्यक्ष शारदा गुरुङ उनकी धर्मपत्नी सन्तोषी उनको स्वास्थ्यलाभको कामना गर्न पुगेका थिए ।
सो क्रममा सहारा युकेका शुभचिन्तकका तर्फबाट फूलको गुच्छासहित स्वास्थ्यलाभको कामना गरिएको थियो भने एक हजार ५०० आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो ।
टोलीले गायक थापाका बुवाआमा, भाइबुहारी र बहिनीसहित सपरिवारसँग पनि साक्षात्कार गरेका थिए । सो अवसरमा गायक थापाको परिवारले सहारा युके र मगर एसोसिएसनको टोलीलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।
सहारा युकेले गत साल गायक थापाको उपस्थितिमा उत्कृष्ट कार्यक्रम गरेको थियो । उनी बुवाआमा र भाइसँग बसिरहेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या आएपछि केही समयअघि अस्पताल भर्ना भएका थिए । अहिले, स्वास्थ्यमा सुधार आएपछि घरमा आराम गरिरहेका छन्।
गायक थापाको परिवार अप्रिल २० मा नेपाल फर्किँदै छ। उनका ‘विदेश जाने मायालु तिमीलाई’ लगायत गीत चर्चित छन्।
प्रकाशित मिति: बुधबार, माघ ३, २०८० २३:४७
लन्डन । सहारा युके कोषाध्यक्ष कुमार थापा र उनको परिवार फुटबल खेलमा समर्पित छ ।
कुमार र उनकी श्रीमती गीताका माहिला छोरा अर्नव यतिबेला रिडिङ फुटबल क्लब यु–१२ मा पाँचौं ट्रेल र छनोट प्रक्रियामा छन् । यो छनोट प्रक्रिया आठ सातासम्म जारी रहन्छ ।
कुमार आफैं पनि कुशल फुटबल खेलाडी हुन् । उनी सहारा क्लब पोखराले २०५८ सालमा आयोजना गरेको पहिलो क्याराभान प्रतियोगितामा मैदान उत्रिएका थिए । कुमार दम्पतीका जेठा छोरा अरहन्त पनि उदीयमान फुटबल खेलाडी थिए । तर १२ वर्षको कलिलो उमेरमै उनको करिब ८ वर्षअघि उपचारका क्रममा निधन भएको थियो ।
छोराको निधनपछि विक्षिप्त थापा परिवार फुटबलमा झन् समर्पित हुँदै गयो । छोरा अरहन्तको स्मृतिमा परिवारजनले स्याङ्जाको वालिङमा बर्सेनि अरहन्त कप आयोजना गर्दै आएको छ । यसपालि आगामी मार्चमा आठौं संस्करणको प्रतियोगिता हुँदैछ ।
कुमारका भाइ गोपाल पनि फुटबल खेलाडी हुन् । उनी यतिबेला बेलायतको रेडिङ टाउनमा बस्छन् । उनले सहारा क्लब पोखराबाट धेरै पटक खेलिसकेका छन् । उनी यू–१९ नेपालका लागि पनि छनोट भएर खेलेका थिए । उनले नेपाल एपीएफ टोलीबाट धेरै प्रतियोगितामा भाग लिएका छन् । युकेबाट पनि आएर आहा रारा गोल्डकप खेलेका छन् ।
वालिङ खेल मैदानमा हुने अरहन्त कपलाई कुमार थापा परिवारसहित साथीभाइ र आफन्तले पनि सहयोग गरिरहेका छन् । सहारा युकेले पनि गत वर्षदेखि अरहन्त कपका लागि २५ हजार प्रदान गर्दै आएको अध्यक्ष कृष्ण गुरुङले बताए ।
सहारा युके अध्यक्ष गुरुङले सम्पूर्ण सहारा युके सदस्य र सल्लाहकारहरूको तर्फबाट अर्नव थापा र उनका बुवालाई मायाको चिनो र सहारा युके गलबन्दीसहित सम्मान गरेका छन् ।
सो अवसरमा खेलकुद सचिव शमशेर गुरुङ, सहारा युके सदस्य मनोज गुरुङ, प्रेम गुरुङ लगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० २३:४८
कास्की । २३ औं आहा ! रारा पोखरा गोल्डकपमा सहभागी हुन सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ नेतृत्वको टोली पोखरा आइपुगेको छ ।
बेलायतबाट शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा ओर्लिएका अध्यक्ष कृष्ण आइतबार दिउँसो करिब ४ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । अध्यक्ष कृष्ण र सहारा युकेका सल्लाहकार कृष्णबहादुर गुरुङलाई विमानस्थलमा सहारा पोखराका निर्वतमान अध्यक्ष सुरज गुरुङ, पूर्वअध्यक्ष केशव थापा, फोटो पत्रकार सुदर्शन रन्जित, राजन ढकाल, गमबहादुर गुरुङ, नेपाल मगर सांस्कृतिक संघ कास्कीका अध्यक्ष सरिता सारु मगर, गायिकाहरु रेनु रेलामी मगर, निरा थापामगरलगायतले पुष्पगुच्छा र खादाले स्वागत गरेका थिए ।
पर्सि माघ ९ गतेदेखि हुने पोखरा गोल्डकपका लागि बेलायतबाट सहाराका पदाधिकारी तथा सदस्यहरु धमाधम पोखरा आइरहेका छन् । आइतबार बिहान सहारा युकेकी सचिव मन्जु गुरुङ राई पोखरा आइपुगेकी छिन् । त्यस्तै शनिबार बेलुकी मिडिया सेक्रेटरी एवं गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पोखरा ओर्लिइसकेका छन् ।

गोल्डकपका लागि सहाराका एक टोली यसअघि नै पोखरा आएको थियो । जसमा प्रमुख सल्लाहकार महेश गुरुङ, आजीवन सदस्य भोज गुरुङ, मानार्थ सदस्य सहारा पोखराका लोक गुरुङ, राम गुरुङ, नरजंग गुरुङ र हरिकुमार श्रेष्ठ छन् । निवर्तमान अध्यक्ष लेरि कुसाङ गुरुङ, पूर्वअध्यक्ष कुमार गुरुङ, कार्यसमिति सदस्य एसके गुरुङ, लालकाजी गुरुङ, योगेश गुरुङ, चन्द्र गुरुङ, देव गुरुङ, गम गुरुङलगायत अर्को टोली पनि आउने कार्यक्रम रहेको अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।
अध्यक्ष कृष्ण गुरुङले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज नेम्बाङ र सहारा युकेका संरक्षाक नेपालकै सफल व्यवसायी अरूण चौधरीसँग काठमाडौंमा भेटघाट गरेका थिए । भेटका अवसरमा सहारा युकेको विषयमा छलफल भएको अध्यक्ष गुरुङले जानकारी गराए । एन्फा अध्यक्ष नेम्बाङलाई अध्यक्ष गुरुङले सहारा युकेको तर्फबाट मायाको चिनो प्रदान गरे । 
पोखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियमममा सञ्चालन हुने आहा ! रारा गोल्डकप प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र थ्रिस्टार क्लबबीच हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १२ टोली प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवराज बरालले बताए । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । उनका अनुसार विजेताले १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले छ लाख एक हजार नगदसहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।
अध्यक्ष बरालले प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कारसहित कूल २८ लाख ३२ हजार पाँच सय ५५ नगद पुरस्कार राशि रहेको जानकारी दिए । सहभागी प्रत्येक टोलीलाई एक खेल खेलेबापत अतिरिक्त प्रोत्साहन रकम प्रदान गरिने छ । प्रिक्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई २० हजारका दरले र क्वाटरफाइनलमा विजेता र पराजित दुवै टोलीलाई ३० हजार तथा सेमिफाइनलमा पुग्ने टोलीलाई ५० हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।
यसैगरी, ‘म्यान अफ दी म्याच’लाई नगद १० हजारसहित मेडल पुरस्कार पाउँछन् । यस वर्षदेखि क्लबले प्रत्येक खेलमा दुईजनालाई भाग्यशाली दर्शक पुरस्कार पाँच हजारका दरले प्रदान गर्ने भएको छ । दर्शकको उपस्थिति वृद्धि गर्न र प्रोत्साहनका लागि सो पुरस्कार राखिएको हो ।
प्रतियोगितामा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, संकटा क्लब, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, मच्छिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, राइजिङ स्टार फुटबल क्लब, थ्रिस्टार क्लब, पारो फुटबल क्लब भूटान, नेपाल एपीएफ क्लब र आयोजक सहारा क्लबको टोली सहभागिता जनाउनेछन् । अघिल्लो संस्करणको उपाधि सङ्कटा क्लबले जितेको थियो भने भुटनिज युथ स्पोर्टस क्लब मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।
‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटनको सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ हरेक वर्ष प्रतियोगिता सञ्चालन हुने गर्दछ । पर्यटकीय सहर पोखरालाई ‘स्पोर्टस् हव सिटी’का रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा प्रतियोगिताले सहयोग पुग्ने आयोजकको भनाइ छ ।
प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गर्ने गरिएको छ । विसं २०६१ देखि पोखरामा एकेडेमी सञ्चालनमा छ । हाल चौथो ब्याचको एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन् ।
कास्की । सहारा युके र सहारा हङकङको टोलीलाई स्व. सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा स्वागत गरिएको छ ।
सहारा क्लब पोखराद्वारा आयोजित २३औं आहा ! रारा पोखरा गोल्डकप-२०८० मा सहभागी हुन नेपाल आएका सहारा युके, सहारा हङकङका अध्यक्षहरु, पदाधिकारीलगायत सम्पूर्ण सदस्यहरुलाई बिहीबार एक कार्यक्रमबीच स्वागत गरिएको हो ।
कार्यक्रममा सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ, सहसचिव मन्जु गुरुङ राई, पूर्वअध्यक्ष ले रि कुसाङ गुरुङ, उनकी पत्नी पन्च गुरुङ, सल्लाहकारहरु कृष्ण गुरुङ, मुछेत्र गुरुङ, लालकाजी गुरुङ, एफसी फाउन्डर चियरमेन हरिकुमार श्रेष्ठ, उनकी पत्नी सरिता श्रेष्ठ सहभागी थिइन् ।
यस्तै डाइमन्ड बुद्धिस्ट सेन्टर युकेका अध्यक्ष रहेका सहारा सदस्य तथा सल्लाहकार योगेश गुरुङ, कार्यसमिति सदस्य डोभ गुरुङ, एसके गुरुङ, गमहादुर गुरुङ, सहारा सदस्य राम गुरुङ, यशोदा गुरुङ, अशोक गुरुङ, भोज गुरुङ र मेजन रोज गुरुङ लगायत उपस्थित थिए ।
बिहीबार नै सहारा पेाखरा संयुक्त बैठकसमेत सम्पन्न भएको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० १३:१७
लन्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका कलाकारद्वय सरुन गुरुङ र ममता गुरुङलाई सहारा युकेको आठौं कार्यसमितिले स्वागत, सम्मान गरेको छ ।
तमु धीं यूकेको निमन्त्रणमा बेलायत आएका गायक सरुन र गायिका ममतालाई अल्डरसटमा बुधबार १० जनवरी २०२४ का दिन एक कार्यक्रमबीच सहारा युकेका अध्यक्ष कृष्ण गुरुङ,सल्लाहकार, निवर्तमान अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्यहरु र शुभचिन्तकले पुष्पगुच्छा, सहारा यूके लोगो अंकित गलबन्दी र प्रमाणपत्रसहित स्वागत र सम्मान गरेका हुन् । कार्यक्रममा अचानक उपस्थित हुन पुगेका चर्चित गायक प्रकाश सपूतलाई पनि स्वागत गरिएको थियो ।
कार्यक्रममा उपाध्यक्ष शारदा गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव क्याप्टेन पिताम्बर गुरुङले सञ्चालन गरेका थिए ।
सपूतले आफ्नो युके भ्रमणको अन्तिम शो यही जनवरी १३ तारिखमा एम्पायर हल अल्डरसटमा हुन लागेको जनाउँदै उपस्थित हुन संगीतप्रेमी बेलायतवासी नेपालीलाई आग्रह गरेका छन् ।
उनीहरुलाई यसअघि ८ जनवरीमा पीपल मोर्गेजका प्रबन्ध निर्देशक तथा समाजसेवी सूर्य गुरुङले खादा र मायाको चिनोसहित सम्मान गरेका थिए ।
यसैबीच सहारा युकेका महासचिव क्या पिताम्बर गुरुङले नयाँ व्यवसाय सुरु गरेकोमा अध्यक्ष कृष्ण गुरुङले संस्थाको तर्फबाट खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए । क्याप्टेन पिताम्बर म्यान्चेस्टर सिटीमा हालै इलम (ELM) अपार्टमेन्ट सर्भिस सञ्चालन ल्याएका छन् ।
ममता र सरुन तमु धीं यूकेको ल्होछार कार्यक्रममा भाग लिन बुधबार २७ डिसेम्बर २०२३ मा बेलायत आएका हुन् । उनीहरुले तमु धीं यूकेले ३० डिसेम्बर साँझ एम्पायर हलमा आयोजना गरेको ल्होछार कार्यक्रमसहित, साउथ इस्ट रिजनल तमु धीं युके, सोपाल समाज युके र तमु धीं युके लन्डन ब्रान्चको कार्यक्रममा प्रस्तुति दिइसकेका छन् । कास्कीको धम्पुस पोखरी घर भइ हाल पोखरा निवासी गायिका ममता गुरुङ नेपाल आइडल सिजन–३ को उत्कृष्ट–९ मा पर्न सफल सुमधुर स्वरकी धनी छन् । उनले नेपाली, गुरूङ, हिन्दी गीतहरु गाउन सक्छिन् । उनी रेडियोकर्मीसमेत हुन् ।
कलाकार सरुन गुरुङ कास्की स्याङ्लुङ घर भइ हाल पोखरा बसोबास गर्छन् । उनी विभिन्न गीतसंगीतबाट परिचित छन् ।