आमाजस्तै राष्ट्रिय टोलीबाट खेल्ने सपना छ

काठमाडौं (हाम्रो खेलकुद) – कास्कीस्थित सहारा एकेडेमीका दोस्रो ब्याचका सुशील लामाले आफू बुझ्ने भएदेखि नै फुटबल बाहेक केही सोचेनन् । परिवारका पाँच सदस्यमध्येका माइला सुशील आमा दिलमाया लामाकै प्रेरणामा फुटबलमा होमिएका हुन् ।

नेपालको राष्ट्रिय महिला फुटबल टोलीको पहिलो ब्याचकी खेलाडी दिलमाया आफ्नो जमानामा उत्कृष्ट फरवार्ड थिइन् । नेपालले सन् १९८६ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनले नै नेपालको आक्रमण सम्हालेकी थिइन् । घरेलु फुटबलमा गण्डकी अन्चल र पश्चिमान्चलबाट उनीसँगै राष्ट्रिय टोलीकी पूर्वकप्तान कमला हिराचनले पनि खेलेकी थिइन् ।

‘म पहिला लुम्बिनीबाट खेलें अनि गण्डकीबाट खेल्न गएँ । म खेल्दा उनी पनि टोलीमा थिइन् । मैले लामो समय त खेलिन, तर उनले पछि पनि नियमित खेलिरहिन् । हामीले पहिलो पटक हङकङमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा उनले नै आक्रमणमा खेलेकी थिइन्,’ पूर्वकप्तान हिराचनले बताइन् ।

दिलमायाले आफू खेलाडी भएकै कारण आफ्नो छोरालाई पनि खेलाडी बनाउने सपना देखेकी थिइन् । घरमा अरु कसैले सहमति नजनाएपनि दिलमाया सुशीललाई भने खेलाडी नै बनाउन चाहन्थिन् । सानो छँदा आमाले नै फुटबल खेलेको हेर्दा सुशीललाई पनि फुटबल खेल्न मन थियो । आमाले राष्ट्रिय टोलीबाट खेलेको त सुशीलले हेर्न पाएनन् तर क्षेत्रीय खेलकुदमा आमाले खेलेको उनलाई याद भने छ ।

गण्डकीको क्षेत्रीय टोलीमा माथिल्लो पंक्तिमा सुशीलकी आमा स्व. दिलमाया लामा
(बायाँबाट तेस्रो, धर्के सर्टमा)

२०६६ सालमा आमाको निधन हुँदा सुशील १६ वर्षका थिए । परिवारबाट फुटबल खेल्न साथ दिने एकमात्र सदस्य आमाले समेत छोडेपछि सहारानै सुशीलका लागि सहयात्री बन्यो । त्यसो त उनी आमा र मामाकै सहयोगमा त्यसअघि नै एकेडेमीमा प्रशिक्षण गर्दै आएका थिए ।

कास्कीकै सहारा एकेडेमीबाट हुर्केका सुशील हाल मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध छन् । आइपुग्दा उनले अनेक आरोह अवरोह छिचोलेका छन् । आमाले जस्तो परिवारका अन्य सदस्यले साथ नदिएपनि उनले आफ्नो रुचिको क्षेत्रलाई कहिल्यै छाडेनन् ।

‘बी’ डिभिजन क्लब ब्वाइज युनियनबाट फुटबल यात्रा थालेको २७ वर्षे लामाले त्यसपछि न्युरोड टिम एनआरटी, फ्रेन्ड्स क्लब र मनाङ–मर्स्याङ्दी क्लबबाट आफ्नो कला देखाइसकेका छन् । २०६९ मा खर्चिलो बनेको र घरेलु फुटबलको पुरानो र चर्चित क्लब न्युरोड टिम (एनआरटी) बाट खेलेपछि राष्ट्रिय टोलीको प्रारम्भिक चरणको टोलीमा समेत पर्न सफल भएका थिए ।

आफू उच्च लयमा रहँदा घरेलु फुटबलको मेरुदण्ड मानिने लिग नहुँदा त्यसको असर सुशीलमा परेको थियो । ए डिभिजनमा डेब्यु गरेकै सिजन राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समेत परेका उनी त्यसपछि लिग नहुँदा आफ्नो लयलाई निरन्तरता दिन सकेनन् । मोफसलको प्रतियोगिताकै भरमा फुटबल वरपर रहेका उनले आफ्नो स्तर उकास्न पुन: राष्ट्रिय टोलीको बाटो बुन्न सकेनन् ।

उनै सुशीलले आफ्नो बाल्यकाल, त्यसपछिको संघर्ष र वर्तमान स्थितिलाई आफ्नो शब्दमा यसरि बयान गरेका छन् :

बाल्यकाल

म सामान्य परिवारमा जन्मिएको हुँ । मेरो परिवारमा एक दाई र दिदी तथा एक भाइ र बहिनी छन् । खेलकुद क्षेत्रमा आमा हुनुहुन्थ्यो । आमा राष्ट्रिय फुटबल खेलाडीको भएकाले नै मलाई फुटबलमा लाग्न सहज भएको थियो । अझ भन्नुपर्दा आमाले नै मलाई फुटबल खेलाडी बनाउनुभएको हो । आमाको साथ पाएपनि परिवारको अन्य सदस्यबाट मलाई साथ थिएन । आमाकै कारण मैले फुटबलबाहेक केही सोच्न परेन । मलाई फुटबल खेल्नुपर्छ भनेर हौसला मेरो आमाले नै दिनुभएको हो ।

म सानैदेखि आमाको खेल हेर्न विभिन्न ठाउँमा जाने गर्दथे । त्यही भएर म सानै देखि नै फुटबलसँग नजिक हुन सके । उमेर बढ्दै गएपछि पछि मलाई पनि फुटबल खेलाडी बन्नुपर्छ भन्ने सोच आयो । तर, मैले यो कुरा मेरो बाबालाई भन्न सकिन ।

घरमा बाबा मात्रै कमाउने हुनुहुन्थ्यो । बाबालाई भन्न नसकेका कारण मलाई खेल्न बुटकै खाँचो पर्दथ्यो । घरमा बुट किन्नका लागि पैसा पनि हुने थिएन । बुट किन्नको लागि घरमा पैसा माग्दा दिनु हुन्थेन ।

स्कुल जादा खाजाको लागि दैनिक ५ रुपैयाँ पाउँथें । त्यही पैसा जम्मा गरेर कवाडी गोदाममा गएर अरुले फटाएको जुत्ता किनेर लगाउँथें  । त्यही पनि जोडी जुत्ता पाउन निकै गाह्रो हुन्थ्यो । ठुलो भएपनि ममीकै जर्सी लगाएर बाहिर खेल्न निस्कन्थे । बाबाले दाई, दिदी, भाई र बहिनीलाई धेरै माया गर्नुुहुन्थ्यो । मलाई माया गर्ने आमा मात्रै । बाबाको माया नपाएकै कारण मलाई घरमा बस्न निकै असहज हुन थालिसकेको थियो ।

फुटबल भनेपछि म स्कुल पनि छाडिदिन्थे । साथीहरु स्कुलबाट आउँदा म पहिल्यै मैदान पुगिसकेको हुन्थे । घरको नजिकै फुटबल मैदान रहेकाले म दिनभर जसो त्यहीं हुन्थें । म चार कक्षामा हुँदादेखि नै घरबाट स्कुल पठाउनु भएन । पछि मैले पनि वास्ता गरिन । आखिर मेरो ध्यान खेल्नुमै थियो ।

सहारा एकेडेमी

बाबाले हरेक कुरामा मलाई विभेद गर्ने र बाबाकै माया नपाएका कारण घर बस्ने इच्छा मर्दै गएको थियो । तर, मेरो मनमा फुटबल खेलाडी बन्ने नै थियो । पछि आमा र मामाले कुरा गरेर मलाई सहारा एकेडेमीमा राखिदिनु भयो । आमाले राम्रो फुटबल खेलाडी बन्नको लागि एकेडेमीमै बस्नुपर्छ भन्नुभएको थियो । घरमा बसिरहे फुटबल खेलाडी बन्ने र खेल्ने सपना पुरा हुदैन जस्तो लागेर म २०६२ सालदेखि एकेडेमीमा बस्न थाले ।

त्यतिबेला एकेडेमीमा हामी २५ जना थियौं । डम्बरसिंह गुरुङ हाम्रो प्रशिक्षक हुनुहुन्थ्यो । पहिलो देखि नै हल्का खेलिरहने भएका कारण मलाई केही सहज भयो । मेरो पहिलो कोच भनेको नै मेरो आमा हो । मलाई सुरुमा फुटबल खेल्नुपर्छ भनेर बल दिएर मैदानसम्म लैजाने ममी नै हो । मैले त्यहाँ राम्रो प्रशिक्षण गर्ने मौका पाए ।

सानो भएपनि म मजासँग बल खेलाउन सक्ने भइसकेको थिए । २०६६ मा ममीको निधन भएपछि म एक वर्ष एकेडेमी बसे । मैले त्यहाँ धेरै जान्ने बुझ्ने र सिक्ने मौका पाए । आज म जहाँ छु, पहिलो मेरो आमा अनि सहाराकै कारण छु ।

व्यावसायिक करियर

सहारा एकेडेमीमा रहँदा हामीलाई ‘बी’ डिभिजन खेल्न ब्वाइज युनियन क्लब काठामाडौंले बोलाएपछि हामी ९ जनालाई सहाराले एकैचोटि ब्वाइज युनियनमा पठाएको थियो । त्यसपछि मैले एकेडेमी छाडे । ६७/६८ मा एक सिजन ब्वाइज युनियनबाट ‘बी’ डिभिजन खेले । तर,ब्वाइज युनियनलाई शीर्ष श्रेणीमा उकाल्न सकिएन । त्यसपछि पोखरा फर्किए ।

ट्रिनिटी क्लब स्याङ्जा वालिङबाट ‘बी’ डिभिजनको राष्ट्रिय लिग पनि खेले । त्यसपछि म ‘ए’ डिभिजन क्लब एनआरटीमा ट्रायलको लागि काठमाडौं आए । टोलीमा पर्न सफल भएँ । एक सिजन खेले । पहिलो सिजनमै राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा पर्न सफल भएँ । तीन साता जति राष्ट्रिय टोलीमा प्रशिक्षण गर्ने मौका पाए । एनआरटीले फुटबल नखेल्ने भएपछि फ्रेन्डस क्लबबाट एक सिजन खेले ।

त्यसपछि झन्डै चार वर्ष लिग भएन । मोफसलका केही प्रतियोगिताहरु पोखराबाटै खेले । त्यसपछि ‘बी’ डिभिजन हुने खबर आयो । एनआरटीले एक सिजन नखेलेका कारण रेलिगेसनमा परेको थियो । म पुनः एनआरटीमा जोडिए । एनआरटीलाई शीर्ष डिभिजनमा उकाल्न सफल भए । त्यसबेला लिगको बेस्ट मिडफिल्डर पनि घोषित भएँ ।

त्यसपछि नेपालको चर्चित क्लब मनाङ-मर्स्याङ्दीसँगै अन्य क्लबबाट अफर आएपनि आफ्नो मनपर्ने क्लब मनाङमा अनुबन्धित भए । मोफसलका थुप्रै प्रतियोगिता खेले । राम्रो पनि भइरहेको थियो । तर, अवसर कम पाइने भएपछि म पुनः मनाङ छाड्दै एनआरटी फर्किए । औसतको रुपमा रहेको टोलीको कप्तानी गर्ने जिम्मेवारी पाए । एक सिजन एनआरटीबाट ‘ए’ डिभिजन लिग खेले । त्यसपछि पुन मनाङ फर्किए ।

गएको वर्षसहित मैले चार सिजन ‘ए’ डिभिजन लिग खेल्ने अवसर पाए । लिगमा हालसम्म तीन गोल गर्न सफल भए । गएको वैशाखदेखि मनाङसँगको सम्झौता सकिएको छ । कोरोना त्रासका कारण सम्झौता नवीकणबारे केही निर्णय भएको छैन । अवस्था साम्य हुदै गएपछि सबै कुरा मिल्दै जान्छ भन्ने आशा छ ।

मैले तीन फरक क्लबबाट ‘ए’ डिभिजन् लिग खेले । तर, मनाङबाट खेल्दाको जस्तो दवाव रमाइलो अन्य क्लबबाट पाउन भएको अनुभूति भएन । अन्य क्लबको लक्ष्य लिगमै टिक्ने तथा मनाङको लक्ष्य च्याम्पियन बन्ने रहेकाले पनि त्यस्तो भएको हुन सक्दछ । खेलमा प्रशिक्षकको रणनीतिले पनि फरक पार्ने गर्दछ ।

उदाहारणको रुपमा मनाङमा रहेका तोपे फुजालाई लिन सकिन्छ । अघिल्लो सिजन मनाङलाई च्याम्पियन बनाएका फुजाले गत सिजन स्टार खेलाडीले साथ छाडेपनि मनाङलाई तेस्रो स्थानमा ल्याउन सफल भए । नेपाली प्रशिक्षक पनि क्षमतावान छन् । तर फुजाको प्रशिक्षणमा खेल्दा बेग्लै महसुस गरेको छु ।

लक्ष्य

म २०६९ सालमा पहिलो पटक ए डिभिजन खेल्दा नै राष्ट्रिय टोलीको प्रशिक्षणमा पर्न सफल भएको थिएँ । त्यतिबेला म करियरकै उच्च फर्ममा थिए । तर, दोस्रो चरणमा स्थान बनाउन असफल भइन। तीन साताको प्रशिक्षणमा मैले निकै मिहेनत गरेको थिएँ । पहिलोपटक भएकाले होला धेरै कुरा सिकें । तर त्यसपछि लिग रोकिँदा पुन: राष्ट्रिय टोलीमा स्थान बनाउन सकिन । उमेर समूह प्रतियोगिता खेल्न योग्य भएपनि एन्फा एकेडेमीभन्दा बाहिरबाट आएको कारण प्राथमिकतामा परिन ।

हरेक खेलाडीको जस्तै मेरो लक्ष्य पनि राष्ट्रिय टोलीबाट खेल्नु रहेको छ । अझ आमाले राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो, र उहाँको सपना मलाई पनि राष्ट्रिय टोलीबाट खेलेको हेर्नु थियो । म एकेडेमीमै छँदा आमा बित्नुभएको हो । मैले प्रतिस्पार्धात्मक फुटबल खेलेको आमाले देख्न पाउनुभएन । मेरो एकमात्र लक्ष्य राष्ट्रिय टोलीबाट खेल्नु हो । आमाको सपना पूरा गरेमात्र मेरो करिअरले सार्थकता पाउनेछ ।

लक्ष्य प्राप्त गर्नका लागि हरेक दिन मिहिनेत गरिरहेको छु । अर्को मौका पाएँ भने पक्कै आफूलाई प्रमाणित गर्नेछु । चोटकै कारण लामो समय मैदान बाहिर बस्नुपरेको छैन । गत सिजन काँधको समस्याले केहि खेल गुमाएको थिएँ । अहिले कोरोनाका कारण खेल बन्द हुँदापनि फिटनेसमा पूर्ण ध्यान दिएको छु ।

अन्तमा,

नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने आधार अझै छैन । क्लबले पनि खेल हुने सिजन अनुसार सम्झौता गर्ने गर्दछन् । पूरा पारिश्रमिक नपाएको घटना सामान्य हुन थालिसकेको छ । यसबारे सोचिदिन म एन्फा र क्लबलाई आग्रह गर्दछु । अहिले कोरोना त्रासका कारण खेल्ने वातावरण बनिसकेको छैन ।

युरोपतिर फुटबल फर्केको खबरले यता पनि छिट्टै फर्कन्छ भन्ने आशा छ । फुटबल नै जीविकोपार्जनको एकमात्र स्रोत भएको हामीजस्ता खेलाडीका बारेमा सम्बन्धित पक्षले सोचोस् । खेल रहे मात्र हामी खेलाडी रहने हो ।

सुशीलको क्लब यात्रा

२०६२ – सहारा एकेडेमी

२०६८ – ब्वाइज युनियन (‘बी’ डिभिजन)

२०६९ – न्युरोड टिम (एनआरटी)

२०७० – फ्रेन्ड्स क्लब

२०७३ – न्युरोड टिम (एनआरटी – ‘बी’ डिभिजन) त्यसपछि मनाङ

२०७५ – न्युरोड टिम (एनआरटी)

२०७६ – मनाङ–मर्स्याङ्दी क्लब

(हाम्रो खेलकुदसँगको कुराकानीको आधारमा तयार पारिएको सामग्री)

Related posts

आयोजक सहारा क्लबले फाइनलमा जावलाखेल युथ क्लबलाई २–० ले हराउँदै उपाधिसहित १४ लाख जित्यो

सहारा क्लब हङकङमा नयाँ कार्यसमिति

संकटाले जित्यो २२ औं आहारारा पोखरा गोल्डकपको उपाधि