सहारा क्लब र हिमश्री फुड्सबीच थपियो १० वर्षसम्म मुख्य प्रायोजन सम्झौता

by Sahara UK

सम्झौता बमोजिम पौन ३ करोड बुझाउने

पोखरा, १३ मंसिर ।

२२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता तयारीको संघारमा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिले थप १० वर्षको सम्झौता गरेको छ ।
मंगलबार आयोजित समारोहमा हिमश्री फुड्स प्रालितर्फबाट कार्यकारिणी अध्यक्ष प्रेमकुमारी केसी र आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । २०८८ सम्म भएको सम्झौता बमोजिम हिमश्रीले कुल २ करोड ७१ लाख क्लबलाई प्रदान गर्नेछ ।
मुख्य प्रायोजनवापत पहिलो ३ वर्षमा वार्षिक १८ लाख, दोस्रो ३ वर्ष वार्षिक २१ लाख, तेस्रो ३ वर्ष वार्षिक २४ हजार र २०८८ सालमा २७ लाख रुपैयाँ चरणबद्ध रुपमा बुझाउने सहमति भएको छ । यस्तै, प्रतियोगिताको व्यवस्थापकीय पक्षको लागि प्रत्येक ३ वर्ष ४ लाख ५० हजार, दोस्रो ३ वर्ष ५ लाख २५ हजार, तेस्रो ३ वर्ष ६ लाख २५ हजार र २०८८ मा ७ लाख रुपैयाँ बुझाउने छ ।
२०५९ सालमा आहा गोल्डकपको नाउँबाट १० वर्षको सम्झौता गरेको हिमश्रीले लगातार सम्झौता गर्दै आएको छ । पछिल्लोसहित ३० वर्षसम्मको दीर्घकालीन सम्झौता नेपाली खेल क्षेत्रमा मुख्य प्रायोजनवापत सबैभन्दा लामो समयसम्मको पहिलो सम्झौता हो ।
यसबाहेक हिमश्रीले स्व. सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीलाई गएको २ वर्षदेखि वार्षिक १५ लाख रुपैयाँ प्रदान गर्दै आएको छ । १० वर्षसम्मको सो सम्झौताबमोजिम ३० लाख रुपैयाँ प्राप्त भइसकेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।
समारोहमा हिमश्री फुड्सका निर्देशक किरण केसी र प्रकाश केसीले बाबु स्व. सूर्यबहादुर केसीको खेल लगायत विभिन्न क्षेत्रमा सहयोगको भावनाको स्मरण गरे । उनीहरुले बाबुको पदचाप आफूहरुले पछ्याएको र आगामी दिनमा समेत सन्ततिले पनि सहारालाई टेवा दिइरहने विश्वास व्यक्त गरे ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा मोफसलको प्रतिष्ठित क्लब रहेको बताउँदै उनीहरुले आफूहरुबीच अन्योन्याश्रित सम्बन्ध रहीआएको बताए ।
पोखराका समाजसेवी, उद्योगी एवं पूर्व सभासद् सूर्यबहादुर केसीको पहल र सक्रियतामा २०५९ सालमा आहा गोल्डकपमा हिमश्री फुड्सको उत्पादन आहा तयारी चाउचाउले मुख्य प्रायोजनको सम्झौता गरेको थियो । त्यसको १० वर्षपछि २०६९ सालमा आहारारा गोल्डकप नामकरणमा १० वर्षको करार भएकोमा अब आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता नामकरणसहित सम्झौता भएको हो ।
सहारा क्लब पोखराले पहिलो पल्ट २०५८ सालमा क्याराभान गोल्डकप गरेको थियो । त्योसहित अब २२ औं संस्करणको प्रतियोगिता आगामी पुस १४ देखि पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा १२ टिमले भाग लिनेछन् ।
कठिन परिस्थिति एवं विपन्न वर्गका बालकलाई शिक्षा, दीक्षा तथा फुटबल सिकाउन आवासीय सुविधासहित क्लबले पोखरा १७, दोबिल्लामा स्व. सूर्यबहादुर केसी सहारा एकेडेमी संचालन गर्दै आएको छ । एकेडेमीमा हाल तेस्रो ब्याचका १३ जना बालक आश्रित छन् ।
कार्यक्रममा राखेप बोर्ड सदस्य राजेश गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्यसचिव तेजबहादुर गुरुङ, सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक एवं पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, क्लब वरिष्ठ उपाध्यक्ष केशवराज बराल लगायतले सम्झौताले पोखराको फुटबल विकासमा कोशेढुंगा सावित भएको बताए ।

Related Articles

Leave a Comment

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?